लिपुलेक विवाद : हेलिकप्टर मार्फत छाङरुमा सुरक्षाफौज लैजाने सरकारको तयारी

काठमाडौं,बैशाख,२९-नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेपछि सरकारले तत्काल सशस्त्र प्रहरीकाे बटालियन राख्ने तयारी गरेको छ।लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा त्यसको चौतर्फी विरोध भैरहेको छ । 

फाईल तस्विर : सामाजीक संजालबाट साभार

सोमबार बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, जहाँ सीमा विवाद रह्यो, त्यो ठाउँमा सरकारको उपस्थिति गराउन सकेनौं ।’ अतिक्रमणको एउटा कारण सरकारको कमजोर उपस्थिति पनि भएको उहाॅंले बताउनुभयो ।

अब हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लैजाने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताउनुभयो।‘अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्ने जानकारी दिनुभयो ।त्यसपछि क्रमशः सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना रहेको समेत उहाॅंले बताउनुभयो ।माथिल्लो दार्चुलामा नेपालको उपस्थिति कम भएका कारण पनि सीमा समस्या भइरहेको उल्लेख गर्दै उहाॅंले त्यहाँ हेलिकप्टरबाट सुरक्षाकर्मी पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।

लिपुलेक : तस्विर साभार सामाजीक संजालबाट

अहिले  छाङरुमा ११५ र टिंकरमा १६७ गरेर कुल १८२ घरधुरी सौका समुदायका मानिसको बसोबास छ । उनीहरुको कुल जनसंख्या ११२० रहेको छ । उनीहरु जाडो छल्न दार्चुलाको तल्लो भेगमा झर्छन्, तर अहिलेसम्म घोडेटो बाटोसमेत नभएका कारण पास लिएर भारतको भूमि भएर आउनुपर्ने बाध्यता छ । ‘यो स्थितिलाई अन्त्य गर्न पहिलो चरणमा घोडेटो र त्यसपछि मोटरबाटो बनाउने सरकारको तयारी छ । त्यसअनुसार बजेट पनि छुट्याइएको छ’ मन्त्री ज्ञवालीले भन्नुभयो ।

यसैबिच : सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविण श्रेष्ठले पनि यसका लागि दार्चुलास्थित गुल्मलाई तत्काल व्यक्तिको घर भाडामा लिन निर्देशन दिइसकेको जानकारी दिनुभयो।उहाॅंका अनुसार दार्चुलाको ब्यास गाउँपालिका–१,छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षक (इन्स्पेक्टर) को  नेतृत्वमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ ।

२५ देखि ३५ जनासम्मको टोली पठाउन लागिएको हो। ‘मंगलबार नै टोली मुभ हुन सक्छ, ढिलोमा पनि १-२ दिनमा टोली त्यहाँ पुग्छ,’ डीआईजी श्रेष्ठले  बताउनुभयो ।

हेलिकप्टरबाट हतियार र सामान पठाउने तयारी

प्रवक्त श्रेष्ठका अनुसार बन्दोबस्तीका सामान तयारी गरेर सेनाको हेलिकोप्टरमार्फत टोली त्यहाँ पठाउन लागिएको हो। सरकारले गत मंसिरमै छाङरुङेमा बोर्डरआउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको थियो। त्यतिबेला निर्णय भएका १ सय १४ बीओपीमध्ये १३ वटा मात्रै स्थापना भएका छन्। एउटा किमाथाङ्कामा र बाँकी १२ वटा तराईका जिल्लामा स्थापना भएका छन्।

चीनतर्फको सीमानामा ७ र बाँकी १ सय ७ वटा बीओपी भारतीय सीमानामा थप गर्ने निर्णय भएको छ। तर ६ महिना बितिसक्दा पनि सशस्त्रले बीओपी राख्न सकेको छैन। जग्गा नपाउनु नै मुख्य समस्या बनेको डीआईजी श्रेष्ठको भनाइ छ।‘कतिपय ठाउँमा अहिले पनि भाडाका घरमा बसिरहेका छन्, कहीं सरकारी जग्गा प्राप्त भएको छ, जग्गा नहुँदा बीओपी स्थापना गर्न सकिएको छैन’, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

दार्चुला सदरमुकामबाट त्यहाँ पुग्न एक साता लाग्ने भएकाले नेपाल प्रहरीले पनि सशस्त्रसँगै २५ जनाको टोली पठाउने भएको छ। दुईटा प्रहरी चौकीका लागि करिब २२ जनाको टोली त्यहाँ जान लागेको हो।त्यस क्षेत्रमा चिसो बढेसँगै प्रहरी चौकी फर्किन्छन्। जब गर्मी सुरु हुन्छ पुनः प्रहरी टोली जाने गरेका थिए। सीमामा बिवाद बढेसँगै सशस्त्र पठाउने तयारी भएपछि नेपाल प्रहरीको टोली पनि यतिबेलै जान लागेको हो। 

मंसिरमा ११४ वटा बीओपी स्थापना गर्न सरकारले निर्णय गर्नुअघि सशस्त्र प्रहरीको एक सय ७ वटा बीओपी थियो । त्यसपछि १ वैशाखमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भारत र चीनको सीमा क्षेत्रमा गरेर ५ सय वटा बीओपी राख्ने गरी तयारी थाल्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ ।