पाकिस्तानी विमान दुर्घटनामा ९७ जनाको मृत्यु

एक बालक र अर्का एकजना बाँच्न सफल

एजेन्सी,जेठ १०-पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका ९७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ ।

विमानमा रहेका दुई जनालाई सकुशल उद्धार गरिएको छ । ९९ जना यात्रु रहेको विमानका दुई जना भो आश्चर्यजनक रुपमा बाँचेका छन् ।जसमा एक जना बैंक म्यानेजर छन् भने एक बालक रहेको जनाइएको छ ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार सिन्ध स्वास्थ्य अधिकारीहरुले ९७ जनाको मृत्यु भएको र दुई जना बाच्न सफल भएको जनाएका छन् । जिवित दुबै पुरुष हुन् ।

पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाका प्रवक्ता अब्दुल हफीजले ए ३२० विमानमा ९१ जना यात्रु र ८ जना क्रू मेम्बर थिए । लाहोरबाट कराँची जाँदै गरेको उक्त विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्न एक सय मिटर जतिको दूरीमा हुँदा दुर्घटनामा परेको थियो ।

विमानस्थल नजिकैको वस्तीमा विमान दुर्घटना हुनुपूर्व विमान अवतरणका लागि दुई तीन पटक प्रयास गरेको देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

वस्तीमा विमान खस्दा ५/६ ओटा घर ध्वस्त भएको छ । विमान खसेका ठाउँ बाक्लो बस्ती रहेको मोडेल कोलनी हो र त्यहाँ विशेष गरी गरीब समुदायका मानिस बस्ने गरेको जनाइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।