सरिता गिरीलाई सांसद पद र पार्टीको साधारण सदस्य पनि नरहने गरी हटाइने

काठमाडौँ,असार,१-  जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने भएको छ । संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमाने पछि जसपाले गिरीलाई हटाउने भएको हो ।लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन् । उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

समाजवादी पार्टीकी सांसद सरिता गिरी

सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए । गिरीलाई सांसद पदबाट हटाउने र पार्टीको सदस्य समेत नरहने गरी कार्बाही गर्ने जसपाले जनाएको छ ।स्रोतले बताए अनुसार पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बताएको छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।चाँडै नै बैठक राखेर गिरीलाई हटाइने जसपाका एक नेताले बताए ।समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।