नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं,असार,१२-प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टी स्थायी समितिको बैठकमा अनुपस्थित हुनुभएको छ ।

फाईल : तस्विर

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको स्थायी समितिको बैठकको दोस्रो दिन प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित हुनुभएको हो ।प्रधानमन्त्री अनुपस्थित भए पनि बैठक जारी रहेको र बैठकको अध्यक्षता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ ।

बिहान साढे ११ बजे सुरु भएको बैठकमा ओली अनुपस्थित रहेको एक नेताले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री अनुपस्थित हुनुको कारण भने खुलाइएको छैन।

‘प्रधानमन्त्री बैठकमा जानुभएको छैन, उहाँ केही भेटघाटमा हुनुहुन्छ’, प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईले भन्नुभयो, ‘अस्तिको दिन बैठकको सुरुवात उहाँले गरिसक्नुभएको छ, अहिले अर्को अध्यक्षले त्यसलाई अगाडि बढाइरहनुभएको छ।’

भेटघाटपछि प्रधानमन्त्री बैठकमा जाने नजानेबारे टुंगो नभएको उहाॅले बताउनुभयो। ‘आजको बैठकमा सहभागी हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ, एजेन्डावाइज छलफल चलिरहेकाले निश्चित छैन,’ बजगाईंले भन्नुभयो ।

आजको बैठकमा सचिवालय सदस्यहरुले बोल्ने कार्यतालिका रहेको छ। स्थायी समिति बैठक बुधबारबाट सुरु भएको हो। बुधबारको बैठकमा प्रधानमनत्री ओली र अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्नु भएको थियो ।