नेकपा बैठक स्थगित, अर्को बैठक विहीबार

काठमाडौं,असार,१७-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ ।

बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको हो ।

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा ५ जना स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा आफ्ना धारणा राखेका थिए ।

मंगलबार १८ जनाले बोलेकामा सबैले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै उहाँको कार्यशैली र अभिव्यक्तिको आलोचना गरेका थिए । गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको र त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चुलिएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल, नेताहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्रीले तत्कालै पद त्याग्नुपर्ने माग गर्नुभएको थियो ।

पार्टीमा नेताहरुबाट आलोचना र राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीले बुधबार विहान आफू निकटका मन्त्री र स्थायी समिति सदस्यहरुलाई डाकेर छलफल गर्नुभएको थियो ।