नेपालमा ४६४ जना कोरोना संक्रमित थपिए, मृत्युको संख्या ७० पुग्यो

काठमाडौं,साउन,२३-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनु भयो ।मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना हुन् ।

पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका २५ वर्र्षीय र सर्लाहीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा अहिलेसम्मकै बढी एक सय ६ जना रहेका छन् ।हाल ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । ३ जना भेन्टिलेटरमा रहेका छन् ।हाल १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण भएको छ ।पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भएर डिस्चार्ज भएका छन् ।हालसम्म १५ हजार ८ सय १४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।