ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

फाईल तस्विर : सामाजीक संजालबाट साभार

काठमाडौं,भदौ,१८-ललितपुरमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए।

कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा नम्बर ११ बंगलामुखीका ३९ वर्षीय पृथविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जन छन्।

त्यस्तै, वडा नम्बर ६ का ३६ वर्षीय रवि शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुरको ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ पनि पक्राउ परेका छन्।

रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयले ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी जवानमाथि कुटपिट गरेका थिए। मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी पनि घाइते भएका छन्।

पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाईने भएको छ।पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरीको पानीको फोहोरा हान्ने गाडी समेत तोडफोड भएको छ।

ट्राफिक जवान चढेको मोटरसाइकल समेत स्थानीयले तोडफोड गरेका छन्।भीड तित्तरबित्तर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। मच्छिन्द्रनाथको रथ यात्रा तत्काल रोक्ने निर्णय भएको छ।

( यी हुन् पक्राउ पर्नेहरू )

१) लपु मनपा वडा १६ गावाहाल, बर्ष ४० को महेश बज्राचार्य
२) ऐ वडा ११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन
३) ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन
४) ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य
५) ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य
६) महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य
७) ऐ इमाडोल को ध्रुवराज बज्राचार्य,
बर्ष ४७
८) भक्तपुर ठिमी-८, बर्ष ३२ को श्याम श्रेष्ठ
९) का. जि. कामनपा वडा १६ बस्ने बर्ष ४० को यादवलाल कायस्थ