नेपालमा कोरोना निको हुनेको संख्या ६० हजार नाघ्यो, आजमात्रै ३३ सय ७ जना डिस्चार्ज

काठमाडौं,असोज,१६-नेपालमा शुक्रवार थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।विगत २४ घण्टाको अवधिमा थपिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५२० जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका  छन् ।त्यसैगरी भेन्टिलेटरमा २९ जना संक्रमित रहेका  छन् । नेपालमा कुल पीसीआर परीक्षण संख्या १० लाख ४८ हजार ७८६ पुगेको छ । विगत २४ घण्टामा १४ हजार ७३९ ओटा पीसीआर परीक्षण गरिएको छ ।

यसैगरी कुल डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ भने शुक्रवारमात्रै थप ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् ।

हाल होम आईसोलेशनमा ११ हजार ७६० जना रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना रहेको छ ।

प्रवक्ता गौतमले अहिलेसम्मको अवस्थालाई हेर्दा नेपालमा कुल संक्रमित मध्ये ७३ दशमलव ७ प्रतिशत निको हुने दर रहेको बताउनुभयो।

स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये काठमाडौं जिल्लामा १२८० जना, भक्तपुर जिल्लामा १९६जना  र ललितपुर जिल्लामा १६२ जना कोरोनाका संक्रमित थपिएका छन् ।

यसैबीच मन्त्रालयले प्रादेशिक अस्पताल सुर्खेतमा अर्थोपेडिक सर्जन डा हरिप्रसाद सापकोटाको कोभिड–१९ रोगको  रोकथाम तथा नियन्त्रणमा सक्रिय रही कार्यरत रहेको अवस्थामा संक्रमण भई उपचारको क्रममा बिहीवार निधन भएकोमा समवेदना व्यक्त गरेको छ ।