पाठ्यपुस्तकबाट पौष १ लाई कालोदिन भन्ने सामग्री हटाउन माग

काठमाडौं,पौष,२-

पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा भएका त्रुटि हटाउन माग गरेको छ । पाठ्यपुस्तकमा सरकारले मनलाग्दी त्रुटि गरेको ठहर गर्दै पुनरुत्थानवादीले त्रुटि अविलम्व नसच्याए कडा आन्दोलनको चेतावनी दिएको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पुनरुत्थानवादी शक्तिले कक्षा १० को सामाजिक विषयको पुस्तकमा वि.सं.२०१७ सालमा राजा महेन्द्रले २ तिहाई जनमतको काँग्रेस सरकार अपदस्त गरी प्रत्यक्ष शासन सुरु गरेको पौष १ को दिनलाई कालो दिन भनेर लेखिएको प्रति आपत्ति जनाएको हो ।

पौष १ मा राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि नेपाली भाषालाई अनिवार्य गरेको, नेपालमा भारतीय नोटहरुको प्रयोगमा कमी ल्याएको, विदेशीलाई नेपाली भूमी किन्नमा निषेध गरेको जस्ता महत्वपूर्ण कार्य गरेकोले पौष १ लाई नेपाली इतिहासमा अविस्मरणीय दिनको रुपमा मनाउनुपर्ने पुनरुत्थानवादी शक्तिले माग गरेको छ । पाठ्यपुस्तकमा मात्रै होइन परीक्षामा समेत पौष १ लाई नेपालको इतिहासमा किन कालो दिनको रुपमा मनाइन्छ ? भन्ने प्रश्न समेत सोधिँदै आएको भन्दै पुनरुत्थानवादी शक्तिले उक्त कुरा विषयबाट अविलम्ब हटाउन समेत माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पुनरुत्थानवादी शक्तिका नेता शेखरजंग रायमाझीले सरकारले राजा महेन्द्रका योगदानहरु लुकाउँदै उनको कुप्रचार मात्रै गरेको आरोप लगाए । आफ्नो पार्टी नेपालको शैक्षिक गुणस्तर सुधार र शिक्षाको पुनरुत्थान अभियानमा जुटिरहेको भन्दै रायमाझीले गलत विषय पाठ्यक्रममा राखेर सरकारले बालबालिकाहरुको कलिलो मनलाई बिगार्ने काम गरेको आरोप लगाए ।

प्रसिद्ध स्वीस भुगर्वविद टोनी हेगनले समेत नेपालका राजा महेन्द्र संसारकै महत्वपूर्ण व्यक्तित्व भएको भनी प्रशंसा गरेकोमा त्यस्ता महान् नेपाली राजाले लोकतान्त्रिक सरकारलाई अपदस्त गरी शासन आफ्नो हातमा लिएको दिनलाई कालो दिनमा राखिनु र विद्यालयका बालबालिकालाई समेत सिकाउन पाठ्यक्रममा नै समेटिनुले राजा महेन्द्र्र्रले देशको स्वाभिमान, अखण्डता कायम गर्नका लागि गरेका कैयौँ महत्वपूर्ण कार्यको अवमूल्यन गरेको पुनरुत्थानवादी शक्तिको ठहर छ । कालो दिन नभइ पौष १ लाई नेपाली इतिहासकै अविस्मरणीय दिनको रुपमा मनाउनुपर्ने पुनरुत्थानवादी शक्ति नेपालको नेता रायमाझीले बताए ।

सामाजिक अध्ययन विषय अध्यापनरत शिक्षकलाई समेत पौष १ लाई नेपाली इतिहासमा किन कालो दिनको रुपमा मनाइन्छ भन्ने प्रश्नमा लोकतान्त्रिक सरकारलाई अपदस्त गरेको, दलहरुमाथि पूर्ण प्रतिबन्ध लगाएको, पञ्चायती व्यवस्था सुरु गरेको कारणले कालो दिनको रुपमा मनाइने गरेको भनी विद्यार्थीहरुलाई अध्यापन गरेको भनी पढाउने गरेको जवाफ दिएकोले सो कुरा पूर्ण भ्रमात्मक भएकोले यस्तो कार्य अविलम्ब रोकिनुपर्ने कुरामा नेता रायमाझीले जोड दिए ।

पुनरुत्थानवादी शक्ति नेपालका अर्का नेता शरद मिश्रले सरकारले शिक्षामा गरेको निरन्तरको प्रहारले गुणस्तर र शिक्षकमा समस्या देखिएको आरोप लगाए । विद्यालयको सम्पत्तिमा आँखा लगाउने, अस्थायी शिक्षकहरुमाथि ज्यादति गर्ने, पाठ्यक्रममा गलत विषय पढाउने काम आफ्नो पार्टीले रोकेरै छाड्ने मिश्रले स्पष्ट पारे ।
अधिवक्ता कोषराज काफ्लेले राजा महेन्द्रले दुईतिहाइ कांग्रेस सरकार बर्खास्त गरेको दिनलाई नभइ लोकतन्त्र बहाली भएको दिनलाई कालो दिन मान्नुपर्ने ठोकुवा गरे ।