नेपाल-भारत कुटनीतिक र राजनीतिक वार्ता सुचारु हुँदै, कालापानी र सुस्ताको विषयमा छलफल नहुने

फाईल तस्विर !!

काठमाडौं,कार्तिक,१८-एक वर्षदेखि अवरुद्ध भएको नेपाल भारत कुटनीतिक र राजनीतिक वार्ता पुनः सुचारु हुने भएको छ ।

मंसिर महिनाभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने तयारी भएको छ । आलोपालो प्रचलन अनुसार परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको छैटौं बैठक बस्ने तयारी भएको हो ।

दुई देशको सम्बन्धका सबै पक्षमा छलफल गर्ने उद्देश्यले ३३ वर्षअघि यो संयन्त्र बनाइएको हो ।

तर उक्त संयन्त्रको हालसम्म पाँच वटा मात्र बैठक बसेका छन् । संयुक्त आयोगको बैठक गत वर्षको भदौ ४ गते काठमाडौंमा भएको थियो ।यता नेपालसँगका सीमा विवाद समाधानका लागि वार्ता गर्न भारत तयार भएको छ ।

कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको हो ।

नेपालले यसअघि नै बैठक आयोजना गर्नका लागि प्रस्ताव गरेपनि मिति भने तय भइसकेको छैन ।

नेपालको प्रस्ताव अनुसार नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । बैठकमा कालापानी र सुस्ताको विषयमा भने छलफल हुने छैन ।

दुवै देशका नापी विभागले नेतृत्व गर्ने सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने मात्र रहेको छ ।

सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने सहमति दुई देशबीच यसअघि नै भएको छ ।

हरेक वर्ष मनसुन सकिएपछि सो संयन्त्रको बैठक बस्ने भएपनि कोरोना महामारीका कारण सीमा विवाद हल गर्नका लागि बैठक हुन सकेको छैन ।

हालसम्म सो संयन्त्रको बैठक ६ पटक बसेको छ । संयन्त्रलाई सुस्ता र कालापानीको विषयमा वार्ता गर्ने म्यान्डेट नभएपनि सीमा समस्या समाधानको लागि सुझाव दिन निर्देशन दिइएको छ।