सगरमाथाको उचाइमा वृद्धि, अब ८८४८.८६ मिटर कायम

फाईल तस्विरमा : सर्वोच्च शिखर सगरमाथा नेपाल !!

काठमाडौं,मंसिर,२३-विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको सरकारले घोषणा गरेको हो ।

लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।

पछिल्लो मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बृद्धि भएको छ ।यस अघि ८ हजार ८ सय ४८ मिटर कायम रहेको थियो ।

यही मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत साधानमा सगरमाथाको उचाइ मापन गरेको यो पहिलो पटक हो ।नेपालले आधिकारीक रुपमा उल्लेख गर्ने ८८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो ।

त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले पनि सगरमाथाको मापन गर्दा दुवैको आंकडा फरक फरक निष्किएको थियो ।

अमेरिकाको मापनमा ८८५० मिटर र चीनको मापनमा ८८४४ मिटर रहेको थियो ।चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ मापन गरेको थियो ।यस पटक भने हिउँसहित मापन गरिएको नावी विभागले जनाएको छ ।

वि.स. २०७२ सालको भूकम्पपछि नापी विभागले गरेको सर्वेक्षणमा काठमाडौंका विभिन्न स्थानको उचाइमा परिवर्तन आएको थियो ।

यसैलाई आधार मानेर सगरमाथाको पनि उचाइ फेरबदल हुनसक्ने अनुमान गरिएको थियो ।