“हामी यहाँ छौ”दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

फाईल तस्विर !!

काठमाडौं,पुस,१८-नेकपा(प्रचण्ड-नेपाल समूह) ले आज (शनिबार) दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ।

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि मंगलबार काठमाडौं सहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ।

संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लैले आज प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो।

त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी छ।

यस विषयमा छलफल गर्न समितिको बैठक अहिले बिहान ११ बजे बस्ने तयारी भइरहेको एक नेताले जानकारी दिएका छन्।‘बिहान ११ बजे संघर्ष समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा हुँदै छ’, ती नेताका अनुसार पहिलो चरणको कार्यक्रमको प्रभावकारिता भएपछि दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्न लागेका बताएका हुन् । 

दोस्रो चरणका कार्यक्रम वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपा प्रचण्ड-नेपाल समूहले गरेको छ।प्रधानमन्त्री ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव (वैशाख १७ र २७) घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै अलग भएका छन्।

ओली समूह आफ्नो असंवैधानिक कदमको प्रतिरक्षामा लागेको छ भने प्रचण्ड-नेपाल पक्ष त्यो कदम सच्याएरै छाड्ने अडानका साथ आन्दोलनमा होमिएको छ।