ओलीद्वारा नेपाल पक्षीय नेताको जिम्मेवारी खोसियो, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पनि हटाइए

काठमाडौं,फाल्गुन,२८-नेकपा (एमाले)को ओली पक्षीय केन्द्रीय समिति बैठकले माधवकुमार नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको छ ।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको हो ।

योसँगै एमालेको केन्द्रीय सदस्यको संख्या २ सय ६४ पुगेको छ । एमालेको विधानमा हाल कायम रहेको केन्द्रीय सदस्यको १० प्रतिशतसम्म केन्द्रीय सदस्य मनोनित गर्न पाउने प्रावधान छ ।

बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको हो । २०७१ मा भएको नेकपा (एमाले)को नवौं महाधिवेशनबाट उपाध्यक्षमा विद्यादेवी भण्डारी, बामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य र युुवराज ज्ञवाली चुनिएका थिए ।

यस्तै महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । बैठकले पार्टीको दशौं महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेशका इन्चार्ज पनि परिवर्तन गरेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

एमालेले चैत १ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठक अघि नै शुक्रबार बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएर ओलीले पदाधिकारी हटाउँदै नेपाल पक्षका नेताहरुलाई दिएको जिम्मेवारीबाट पनि बर्खास्त गरेका हुन् ।

ओलीको कदमले एमालेमा अब तीव्र विरोध हुने देखिएको छ । उनको कदमको समाजिक सञ्जालमा विरोध हुन थालिसकेको छ । एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटीमा ओली अल्पमतमा भएपछि ओलीले यस्तो कदम उठाएको राजनीतिका जानकारहरू बताउँछन् ।