जसपा-कांग्रेस छलफल सकारात्मकःशनिबारदेखि राजनीतिक परिस्थिति अलग हुनसक्ने

काठमाडौं,फाल्गुन,२८-सत्ता समिकरणका लागि भएको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को छलफल सकारात्मक भएको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।

‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको मागको सम्बोधन हुनुपर्ने बताउनुभयो ।

यस्तै सञ्चारकर्मीले अबको प्रधानमन्त्री तपाईं बन्नेकुरा चर्चामा आएको छ नि भनि सोधको प्रश्नमा ठाकुरले भन्नुभयो, ‘तपाईंहरूको मुखबाट सुन्न पाइयो, खुसी लाग्यो ।’

छलफलपछि नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको र विपक्षी दलहरूबीच सत्ता समीकरणमा एकता हुने सम्भावना बलियो बनेको बताउनुभयो ।

फेरि पनि छलफल गर्ने सहमति दुई दलबीच भएको उहाँको भनाइ छ । शनिबारदेखि राजनीतिक परिस्थिति अलग हुनसक्ने प्रवक्ता शर्माको भनाइ छ ।