प्रधामन्त्रीबाट हटाएर देखाउन फेरि ओलीको चुनौती

काठमाडौं,फागुन,२९-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन फेरि चुनौती दिनुभएको छ।शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उहाँले मोर्चा कसेर आफूलाई प्रधामन्त्रीबाट हटाए पनि २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उद्घोष गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहन कुनै गाह्रो छैन भन्दै प्रतिपक्षमा बस्न पनि तयार रहेको बताउनुभयो।उहाँले दुईतिहाइको सरकार ढालेर टालाटुलीको सरकार बनाउन लागिएको भए पनि आफूहरू प्रतिपक्षमा बस्ने तयार भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले माधव–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो । उहाँहरू बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रूपमा आह्वान समेत गर्नुभयो । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उहाँको भनाइ छ।

प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडि बढ्न माओवादी केन्द्रमा रहेका नेता कार्यतालाई पनि आग्रह गर्नुभयो । एमालेहरूलाई पनि सच्चिएर आउन आग्रह गर्दै उहाँले आफूलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने बताउनुभयो ।