अब्दुल्लाह नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक

फाईल तस्विर !!

काठमाडौं,चैत,२२-कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।एन्फाले मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा उनलाई नियुक्त गरेको हो । महर्जनले हालै नेपाललाई थ्री नेसन्स कपको उपाधि दिलाएका थिए ।

तर, फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने भएपछि एन्फाले अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

अब उनले विश्वकप छनौटमा नेपालले खेल्न बाँकी रहेको ३ खेल र साफ च्याम्पियनसिपमा नेपाली टिम हेर्ने छन् ।कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यू-२३ र किर्गिस्तान यू-१७ टिमसँग काम गरिसकेका छन् ।साउदी अरेबिया र कुवेतको क्लबमा पनि उनले काम गरिसकेको एन्फाले जनाएको छ ।