बारामा एकै घरका दुई बालकको घाँटी रेटेर हत्या

फाईल तस्विर !!

बारा,जेठ,४-बाराको कलैया उपमहानगरपालिका- ११ मा दुई बालकको हत्या भएको छ।

एकै घरका दुई बालकको घाँटी रेटेर हत्या भएको अवस्थामा मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी दिपेन्द्र शाहीले जानकारी दिनुभयो। उनीहरुको गएराति हत्या भएको अनुमान प्रहरीले गरेको छ।

शाहीका अनुसार कलैया- ७ का अब्दुल रसारका दुई छोरा सात वर्षीय अमिन अन्सारी र ९ वर्षीय उसमान अन्सारीको हत्या भएको अवस्थामा शव फेला परेको हो। सोमबार साँझदेखि उनीहरु बेपत्ता थिए। हत्या गरिएका बालकका बुवा भने बैदेशिक रोजगारीका शिलशिलामा देश बाहिर छन्।

‘हामी अहिले घटनास्थलमै छौँ,’ एसपी शाहीले भन्नुभयो ‘शव पनि घटनास्थलमै छ। हामी अनुसन्धान गर्दै छौँ।’

रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा बालकको शव फेला परेको हो। उनीहरु सहोदर दाजु भाई हुन्। एकै ठाउँमा दुई बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल ‘सिल’ गरेर घटनाको अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो।