नेपालले २० वर्षपछि इराकसंग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दै

फाईल तस्विर : इराक फुटबल संगको फेसबुक पेजबाट साभार !!

काठमाण्डौं,जेठ,१२-कोरोना महामारीका बीच नेपाली राष्ट्रिय फुटबल टिम बुधबार विहान इराक पुगेको छ।

नेपाली राष्ट्रिय टिम सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बगदाद पुगेको हो। 

अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

इराक पुगेपछि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेलले नेपाललाई छनोट प्रतियोगितामा फाइदा पुग्ने बताउनुभयो ।

‘इराकको र कुवेतको वातावरण उस्तै भएकाले इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट फाइदा पुग्ने आसा छ,’ कुवेती नागरिक अब्दुल्लाहले भन्नुभयो’ इराक एसियाको फुटबलको पावरहाउस मध्येको एक हो।

जसका कारण नेपालका लागि आगामी शनिबार इराकको बश्रा रंगशालामा हुने मैत्रीपूर्ण खेल कठिन चुनौती हुनेछ।दुई दिनअघि ताजकिस्तानविरुद्ध इराकले गोलरहित बराबरी खेलेको थियो।

फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ। इराक विश्व वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।

नेपाली टिम इराकविरुद्ध खेलेपछि विश्वकप छनोटका लागि स्थलमार्गबाट कुवेत जानेछ। नेपालले इराकी भूमीमा २० वर्षपछि खेल्न लागेको हो। 

सन् २००२ विश्वकपका लागि छनोट प्रतियोगिता २००१ को मार्चमा भएको थियो। सुरुमा काठमाडौंमा छनोट प्रतियोगिता हुने भनिएको थियो। तर नेपालले प्रतियोगिताको आयोजनाबाट हात झिक्यो। 

त्यसपछि एसियाली फुटबल महासंघले खेल इराकको बागदादमा आयोजना गर्ने निर्णय गर्‍यो। तर समूहमा रहेको काजकिस्तानले विरोध जनायो। जसका कारण एएफसीले ६ खेल इराक र ६ खेल काजकिस्तानमा आयोजना गर्ने निर्णय गरेको थियो।

२० वर्षअघि आफ्नै कारणले नेपाली टिमले घरेलु मैदानमा इराकसँग खेल्ने अवसर गुमाएको थियो। यद्यपी सो भ्रमण नेपाली फुटबलका लागि सम्झनलायक बन्यो। किनभने २० वर्षअघि को सो भ्रमणका दौरान नेपाली टिमले विश्वकप छनोटमा पहिलो जित मात्र निकालेन पहिलो ह्याट्रिक गर्ने इतिहास पनि बनायो।

नेपाल समूह-६ मा परेको थियो। सो समूहमा नेपालसहित इराक, काजकिस्तान र मकाउ थिए। नेपालले सुरुवाती तीन खेल बगदाद र त्यसपछिका तीन खेल काजस्तानमा खेल्यो।

नेपालले काजकिस्तानविरुद्धको पहिलो खेल ६-० ले गुमाएको थियो। दोस्रो खेलमा नेपाललाई घरेलु टिम इराकले ९-१ गोलले पराजित गर्‍यो। बगदादमा भएको खेलमा नेपालका लागि निराजन रायमाझीले गोल गरेका थिए।

बगदादमै भएको तेस्रो खेलमा भने नेपालले मकाउलाई ४-१ गोलले पराजित गर्‍यो। १६ अप्रिल २००१ मा इराकको बगदादमा भएको खेलमा हात पारेको सो जित नै नेपालले विश्वकप छनोटमा हात पारेको पहिलो जित हो।

नेपालका लागि निराजन रायमाझीले १८ र ६१ मिनेटमा गोल गरेका थिए। यस्तै बसन्त थापाले ३१ र हरि खड्काले ७४ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

त्यसपछिका तीन खेल काजकिस्तानमा भए। जसमा पहिलो खेलमा नेपाललाई घरेलु टिम काजकिस्तानले ४-० गोलले पराजित गरेको थियो। यस्तै इराकले नेपालमाथि ४-२ को जित निकाल्यो। नेपालका लागि हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए।

मकाउविरुद्धको फेरि पनि नेपाली टिम हाबी बन्यो। नेपालले ६-१ को जित हात पार्‍यो।

नेपालका लागि निराजन रायमाझीले ह्याट्रिक गरेका थिए। उनी विश्वकप छनोटमा नेपालका लागि पहिलो ह्याट्रिक गर्ने खेलाडी बने। उनले खेलको ३८, ४९ र ५६ मिनेटमा गोल गरेका थिए।

खेलमा बालगोपाल महर्जनले ५२, दिपक लामाले ६७ र बसन्त थापाले ९० मिनेटमा गोल गरेका थिए। छनोटमा नेपाल समूहमा तेस्रो भयो। तर अघिल्लो चरणमा पुग्न पर्याप्त हुन सकेन। त्यति बेला नेपालले ६ मध्ये २ खेलमा जित हात पार्दा १३ गोल गरेको थियो भने २५ गोल खाएको थियो।

विश्वकप छनोटमा नेपालका लागि बढी गोल गर्ने खेलाडी निराजन रायमाझी बने। उनले एक ह्याट्रिकसहित ७ गोल गर्न सफल भए। 

त्यसअघि सन् १९९८ को विश्वकपका लागि भएको छनोट प्रतियोगितामा नेपालले पहिलो गोल गर्ने इतिहास बनाएको थियो। नेपालको समूहमा एसियाको पावर हाउस जापानसहित ओमान र माकाउ थिए। यो विश्वकप छनोटमा पनि नेपालले जित भने निकाल्न सकेन।

६ मध्ये ५ खेलमा पराजित भएको नेपालले माकउविरुद्धको पहिलो खेलमा १-१ को बराबरी खेलेको थियो। बराबरीसँगै नेपालले विश्वकप छनोटमा पहिलो गोल गर्न सफल भएको थियो।

ओमानको मस्कटमा भएको खेलमा नेपालका लागि खेलको २३ मिनेटमा हरि खड्काले गोल गरेका थिए। जससँगै खड्का विश्वकप छनोटमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी बनेका थिए। सेतोपाटी