सगरमाथामा बिहानदेखि भारी हिमपात,सतर्क रहन आग्रह

चक्रवातको प्रभावले आज दिनभर वर्षा हुने

फाईल तस्विर : अधिकृत खिमलाल गौतमको फेसबुकबाट साभार !!

काठमाडौं,जेठ,१३-सगरमाथामा बिहीबार बिहानदेखि भारी हिमपात भइरहेको छ ।बुधबारदेखि सुरु भएको हिमपातका कारण आरोहण समेत प्रभावित भएको छ भने आरोहण गरेर फर्किएका आरोहीहरु पनि दोश्रो शिविरमै रोकिएका छन् ।

बंगालको खाडी बनेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि वर्षा र हिमपात जारी छ।

आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेको सम्पर्क अधिकृत खिमलाल गौतमको फेसबुकमा उल्लेख छ । उहाँकाअनुसार केही आरोहीहरु फर्किने क्रममा घाइते भई उद्धारका लागि हेलिकप्टर मगाए पनि खराब मौसमका कारण लुक्लादेखि आधारशिविर नै हेलिकप्टर जान सकेको छैन ।

निरन्तर भारी हिमपातका कारण सगरमाथाको चौथौ शिविरसम्म पुगिसकेका आरोही पनि फर्किन बाध्य भएको सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिनुभयो ।

केही शेर्पा माथिका टेन्ट उठाउन राति उकालो लागे तापनि पहिलो शिविर माथि भारी हिमपातका कारण त्यहीं रोकिएका छन्। सबैलाई मौसम नसुध्रिएसम्म यथास्थानमा रहन भनिएको उहाँले जानकारी दिनुभयो ।

 

sagarmatha himpatयासको प्रभावले सगरमाथा क्षेत्रमा भएको हिमपात

यसैबिच:बंगालको खाडीमा उत्पन्न भएको यास चक्रवातको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने तथा अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । चक्रवातको प्रभावका कारण प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।