एनआरएनए क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध चयन

फाईल तस्विरमा : एनआरएनए क्युस्युको नव निर्वाचित कार्यसमिती ||

जापान,जेठ,२४-गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

जेठ २२ गते शनिबार सम्पन्न भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए। संयोजकमा निर्वाचित थापा यसअघि सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा जन्मिएका थापा सन् २०१२ मा जापान आउनु भएको थियो। हाल फुकुओका जापान बस्दै आउनु भएको छ ।

विद्यालय जीवनदेखि नै सामाजिक काममा रुची राख्ने संयोजक थापा नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका संस्थापक अध्यक्ष, फुकुओका नेपाल सोसाईटीका पूर्वसदस्य हुनुहुन्छ, भने हाम्रो नेपाल हामी नेपाली अभियानका सचिवको जिम्मेवारी सम्हाली रहनु भएको छ ।

यस्तै जन्मठाउँ पञ्‍चकन्यामा शिक्षालाई गुणस्तरीयता प्रदान गर्ने र बालबालिकाहरु सहरी क्षेत्रमा धाउन नपरोस् भने थापाकै टिमले पञ्‍चकन्या जनकल्याण युवा समाजमार्फत जनकल्याण सामुदायिक पाठशाला सञ्‍चालन गरेको छ । हाल उक्त विद्यालयका संस्थापक र पञ्‍चकन्या जनकल्याण युवा समाजको वरिष्ठ उपाध्यक्ष रहेका थापा मातृभूमिमा योगदान दिन निरन्तर खटिरहेका छन् ।

फाईल तस्विरमा : एनआरएनए क्युस्युको नव निर्वाचित संयोजक अर्जुन थापा ||

यसैबिच:संयोजक थापाको नेतृत्वमा एनआरएनए क्युस्युको उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सहकोषाध्यक्षमा रिपुहरि सापकोटा चयन भएका छन् ।

सदस्यहरुमा भने अमृत भट्ट, प्रदीपकुमार राई, सुवासबहादुर बोहोरा, दिपकबहादुर शाही, महिला सदस्य कृष्णा बस्नेत र विद्यार्थी सदस्य सज्जन सुवेदी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ।एनआरएनए क्युस्युको नवनिर्वाचित कार्यसमितिको कार्यकाल २०२३ सम्म रहने छ ।