काठमाडौं,असोज,२१-नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरी मनाइदै छ ।
पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजदेखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।
शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ । शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा लिइन्छ ।