राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, महामन्त्रीमा पराजय भए रेखा थापा

काठमाडौं,मंसिर,१८-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । राप्रपा महाधिवेशनका क्रममा शनिबार भएको मतदानको आज विहाज सकिएको मतपरिणाम अनुसार लिङ्देन अध्यक्षमा विजयी हुनु भएको हो ।

अन्तिम मत परिणाममा लिङ्देनले थापालाई दुई सय मतले पराजित गर्नुभयो । कुल ३ हजार ८ सय ७३ मत खसेकोमा लिङ्देनले १८ सय १७ मत पाउनुभयो भने थापाले १६ सय १७ मत पाउनुभयो । ४ सय ३१ मत बदर भएको राप्रपाको निर्वाचन समितिले जनाएको छ ।

 

लिङ्देनको जीतसंगै राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । अन्य पदाधिकारीहरुको पनि मत गणना सकिएको छ । जसअनुसार उपाध्यक्षहरुमा बिक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुबबहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । यस्तै, महामन्त्रीमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाही निर्वाचित भएका छन् ।

यसैबिच :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ ।उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो ।

 

शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १ हजार ६ सय ४० मत ल्याउँदा शाहीले २ हजार ८ मत ल्याउनु भएको थियो ।

कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिका थापा लिङ्देन प्यानलबाट चुनाव लड्नु भएको थियो ।