संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं,आषाढ,२०-संघीय संसदका दुवै सदनको बैठक आज (सोमबार) बस्ने भएको छ ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएको छ।बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्।बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ।

राष्ट्रिय सभामा उत्पति भएका औषधि तेस्रो संशोधन विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र रेल्वे विधेयक २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ र राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७ छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता छलफल र अनुमोदनका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ।

यस्तै: प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नु हुने भएको छ।एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले अध्यक्ष ओलीले आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी दिनुभयो। एमालेले महंगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको विरोध गर्दै आएको छ ।

साथै उता राष्ट्रिय सभा बैठक पनि सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।