निर्वाचन आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै

‘प्रदेश सभाको प्रतिवेदन भने आगामी शनिबार प्रदेश प्रमुखहरुलाई बुझाइने’

काठमाडौं,मंसिर,२९-निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम बिहीबार राष्ट्रपति भण्डारीलाई बुझाउने जानकारी दिनुभएको थियो।यस्तै, प्रदेश सभा निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ ।

पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी पनि दिनुभयो ।आयोगले राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएसँगै नयाँ संसदको बैठक डाक्ने र सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।

आयोगले संघीय संसद सचिवालयलाई पनि नव–निर्वाचित सांसदहरुको विवरण पठाउने छ।संसद अधिवेशन डाक्न भने सरकारले मिति तय गरी राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने छ ।

सरकार गठनको प्रक्रिया अघि बढाउनु अघि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।ईमेजबाट