नयाँ सरकार गठनको तयारीमा दलहरु

काठमाडौं,पौष,५-राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेर दलहरुलाई पत्राचार गरेसँगै नयाँ सरकार गठन थालिएको छ।दलहरु संसदीय दलको निर्वाचनका लागेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो।

सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका नै सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्ने भएको छ।

संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँट गर्ने दलहरू बीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले सपथग्रहण गर्नुअगावै संसदीय दलको चुनाव गर्न लागेको हो।संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ ।

कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ भने शेखर कोइराला पनि दलको चुनाव लड्न दबाबमा हुनुहुन्छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले पनि संसदीय दलको नेता, उपनेता र सचेक चयन गरीसकेको छ।अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरेको छ भने उपेनता र मुख्य सचेतकमा क्रमश राजेन्द्र पाण्डे र प्रकाश ज्वाला चयन भएको नेकपा एसले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनु भएको छ।रास्वपाका नवनिर्वाचित सांसदहरुको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।

प्रतिनिधिसभामा चौथो दल बनेको रास्वपाले पनि सांसदहरुको सपथ गराउनुअघि नै संसदीय दलको नेता चयन गरेको हो।रास्वपा पनि आफ्ना मुद्दा सम्बोधन भए नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ।प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधिसभामा रास्वपाले २० सिट जितेको छ।