प्यालेस्टाइनमाथि नेपालको ६-० गोलको सानदार जित

प्यालेस्टाइनमाथि नेपालको सानदार जितकाठमाडौं,फाल्गुन,२४-एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो ।

 
 

नेपालको सानदार जितमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् । गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार  पायो ।

खेलको २१ औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।गरिमाले २९ औं मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा २-० ले अघि रह्यो ।

खेलको ६४ औं मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३-० ले अघि रह्यो ।

७५ औं मिनेटमा दिपाले ह्याट्रिक पूरा गर्दा नेपालको अग्रता ४-० को बन्यो ।खेलको ८३ औं मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८५ औं मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपाल ६-० ले विजयी भयो । दिपाको प्रहार पोस्टमा लागेर फर्किएको बल फिलिप्सलाई लाग्दै गोल भएको थियो ।जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ ।

छनोटको समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।    

अब दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ ।छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ ।  यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।