राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको अवसरमा रेशम सहित ४८२ जनाको कैद माफी

रेशम चौधरीकाठमाडौं,जेठ,१४-कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिनाहा गर्दै आममाफी दिनुभएको हो ।

चौधरीसहित अन्य ४८२ जनाको कैद सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेको जानकारी दिनुभएको हो ।

जसमा रेशम चौधरीको नाम पनि रहेको छ।आइतबार बिहान बसेको मन्त्रिरिषद्को बैठकले रेशम चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।२०७२ साल भदौ ७ गते भएको उक्त घटनामा चौधरी मुख्य दोषी ठहर भएका थिए।कैलाली जिल्ला अदातल, उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतले समेत चौधरीलाई दोषी ठहर गर्दै आजन्म कैद सजाय गरेका थिए ।

जेलमै बसेर नागरिक उन्मुक्ति पार्टी गठन गरका चौधरीको पार्टीका प्रतिनिधिसभामा चार सदस्य छन् भने चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ पुष्पकमल दाहालको सरकारमा भूमि व्यवस्था मन्त्री रहेकी छन् ।