संसद बैठक स्थगित बारे कुन दलका नेताले के के भने ?

काठमाडौं,साउन,३०-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताउनुभएको छ।

सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताउनुभएको हो।

उहाँले बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको बताउनुभयो।उहाँले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताउनुभयो।

सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै उहाँले कसको लागि र किन त्यस्तो गरिएको हो भनि प्रश्न गर्नुभयो।उहाँले सभामुखमाथि शंकाको घेरा देखिएको पनि बताउनुभयो।

त्यसैगरी : सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आकस्मिक समयमा दुई जना सांसदलाई मात्रै बोल्न दिएर संसदमा अरुको उपस्थिति छैन भन्नेजस्तो नजिर बसाएका बताउनुभयो । उहाँले संसद दुई पार्टीको कब्जामा परेको बताउनुभयो।
 
यसैगरी :जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभयो।

सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर संसदमाथि खेलवाड गरेको बताउनुभएको हो।

त्यस्तै : नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएको छ।सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताउनुभएको हो।

यस्तै :सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न नसकेको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ ।

एमालेका सचेतक महेश बर्ताैलाले आफ्नो पार्टीले संसदमा उठाएको मागलाई सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद बैठक चल्न नसकेको बताउनुभएको हो।