दशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरि मनाईदै

kharibotकाठमाडौं,असोज,२१-हिन्दु नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरि मनाईदैछ।

घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।

 

यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।

दशैँको पाँचौं दिन आज पनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको छ।

 

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।