जाजरकोट, मंसिर २०- आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले आइतबार सर्वस्वसहित जन्मकैदको सजायको फैसला सुनाएको हो ।नलसिंहगाड जलविद्युत् आयोजना निर्माणका लागि अधिग्रहणमा परेको देउमीका नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गराउनका लागि वुद्धिबहादुर र उहाँकी श्रीमतीले दबाब दिँदै आउनु भएको थियो ।जग्गाको नामसारी गराउन देउमीले जेठा छोराका छोराछोरीको सहमति बिना गर्न नमानेपछि उनीहरुले आमाको हत्या गर्ने योजना बनाउनु भएको थियो ।
जग्गा नामसारीका लागि श्रीमती शर्मिलाले कि आमालाई मार कि म भिरबाट हामफालेर मर्छु भनेपछि आफूले आमाको हत्या गरेको वुद्धिबहादुरले अदालतको बयानमा स्वीकार गर्नु भएको थियो ।आमाको हत्यापछि उनीहरुले घर नजिकैको बारीमा शवलाई गाडेका थिए । प्रहरीका अनुसार सुतिरहेकी आमालाई वुुद्धिबहादुरले बन्चरोले टाउकोमा हिर्काएका थिए ।अरुले थाहा पाउलान भनेर वुद्धिबहादुरका श्रीमान्, श्रीमतीले लास गाडेको ठाउँमाथि तिरमिलो बेर्नो पनि रोपेका थिए । गत साउन २२ गते आमालाई मारेर मकैबारीमा गाडेका वुद्धिबहादुरले २३ गते बिहान गाउँभरि आमा घरबाट हराएको हल्ला चलाएका थिए ।
आमालाई खोजिदिन भन्दै उनले प्रहरी चौकीमा निवेदन दिएका थिए । देउमीका भतिजा हरिबहादुर खत्रीले भदौ ६ गते प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो । घटना भएको तीन हप्तापछि प्रहरीले दुवै लोग्ने स्वास्नीलाई पक्राउ गरेको थियो । वुद्धिबहादुर जाजरकोट कारागारमा छन् भने शर्मिला साढे दुई वर्षको छोराका साथमा बर्दियाको कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । देउमीका श्रीमान् लगवीर खत्री र जेठा छोरा बुहारीको पनि मृत्यु भइसकेको छ । रासस