संशोधनमा बल गर्दा द्वन्द्व बढ्छ : खनाल

पोखरा, मंसिर २० नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बेलामा संशोधनका लागि जोड गर्दा मुलुकमा द्वन्द्व बढ्ने बताउनुभएको छ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा खेलाडी पठाउन पश्चिमाञ्चलका लागि पोखरा रंगशालामा आज सुरू छनोट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको समय संविधान कार्यान्वयन गराउनको लागि हो, संशोधन गर्ने बेला भएकै छैन ।

संविधान कार्यान्वयनको साटो संशोधन गराउन जोड दिँदा मुलुकमा द्वन्द्व र विदेशी हस्तक्षेप बढ्ने उहाँले दाबी पनि गर्नुभयो । नयाँ संविधानले जातजाति, भूगोल, महिला, दलित, मधेसी सबैका लागि अधिकार सुनिश्चित गरेको पनि उहाँले बताउनुभयो ।

खेलकुदका सन्दर्भमा सरकारले मंत्रालय नै बेग्लै गठन गरेकाले पहिलेदेखि नै यो क्षेत्रका लागि गम्भिर रहेको खानालको भनाई छ । १० दिनसम्म चल्ने छनौट प्रतियोगितामा हुने विभिन्न २४ इभेन्टका लागि पश्चिमाञ्चलका १६ जिल्लाका २४ सय ८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।