जाजरकोटमा वातारणीय मूल्याङ्कनको काम नहुँदा सडक निर्माण कार्य अलपत्र

जाजरकोट,मंसिर २०-जिल्ला वन कार्यालय जाजरकोटले वन पैदावार वस्तुहरुमा गम्भीर क्षति हुने गरी सडक निर्माण कार्य भएको भन्दै काम रोकेपछि खलङ्गा–जुम्ला सडक निर्माण कार्य अलपत्र परेको छ । जिल्ला वन कार्यालयको निर्देशनमा इलाका वन कार्यालयले २०७० चैत २२ गते सडक निर्माणको काम रोकेको थियो। सडक निर्माणको म्याद गुज्रेपछि ठेकेदारले म्याद थपका लागि ताकेता गर्दा थप्न सडक विभाग र सडक डिभिजन कार्यालयले अहिलेसम्म कुनै पहल नगर्दा आधा काम भइसकेको खलङ्गा–पाँचकाटिया–वारेकोट–जुम्ला सडकको फुलचाउली–गर्छिनाखण्डको काम अलपत्र परेको हो ।

विसं २०७० मङ्सिर २२ गते निर्माण सम्झौता भएर सुरु भएको १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट र जुम्ला जिल्ला जोड्ने रणनीतिक महत्वको सडकको निर्माण कार्य बीचैमा अलपत्र पर्दा स्थानीयवासी चिन्तित भएका छन्। सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी रौताह कन्स्ट्रक्सन प्रालि उदयपुरका प्रतिनिधि शान्तबहादुर बस्नेतले सरकारी निकायकै व्यवधान र उदासीनताले निर्माण कार्य अलपत्र परेको बताउनुभयो ।