महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै

रोशन घर्ती
दाङ,मंसिर २१-महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०७१र७२ मा सात हजार ६५२ माहुरीको गोलाबाट २३४ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी गत आव २०७२र७३ मा ११ हजार १५२ गोलाबाट ८९ दशमलब २१ मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आव २०७३र७४ को कात्तिक मसान्तसम्ममा १२ हजार ७१० गोलाबाट ६६ दशमलब ४६ मेट्रिक टन मह मात्र उत्पादन भएको बस्नेतले बताउनुभयो ।

जिल्लामा उन्नत जातका माहुरीका १० हजार ५३२ वटा आधुनिक घार र दुई हजार १७८ स्थानीय जातका माहुरीका घार रहेका छन् ।कृषि विकास कार्यालयका अनुसार यस वर्ष उन्नत जातको माहुरी प्रतिगोलाबाट छ किलो मह उत्पादन भएको छ भने स्थानीय माहुरीको प्रतिघारबाट १।५ किलो मह उत्पादन भएको छ ।जिल्लामा चरन क्षेत्रको अभाव र आधुनिक औजारहरू उपलब्ध नहुँदा मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र घट्दै जानु, तोरी ढिलो फूल्नु र चिउरीको फूलमा पुष्प कम भएका कारण मह उत्पादनमा कमी आएको बाली संरक्षण अधिकृत बस्नेतले बताउनुभयो ।

जिल्लामा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ । माहुरीको वंश पुरानो हुँदै गएकोले पनि मह उत्पादन घटेको हुन सक्ने बस्नेतको भनाइ छ । माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट समेत बर्सेनि दाङमा माहुरी ल्याउने गरिएको छ । जिल्लाका रामपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।