संविधान संशोधन र स्थानीय निकायको निर्वाचन नहुँदासम्म राजीनामा नदिने प्रधानमन्त्रीको भनाइ

विराटनगर,पुस ३-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नहुँदासम्म र स्थानीय निकायको निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीबाट राजीनामा नदिने बताउनु भएको छ । विराटनगरमा प्रदेश नम्बर एकको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले प्रतिपक्ष नेकपा एमाले आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउने दाउमा लागेको बताउनुभयो । संविधान संसोधनको प्रस्ताव फिर्ता गराउने बहानामा संसद र सडक आन्दोलन गर्ने कार्य एमालेको संविधान खारेज गराउने उद्देश्यबाट प्रेरित भएको उहाँले बताउनुभयो ।

उहाँले प्रदेशको चुनाब नगरे संविधान नै खारेज हुने आशंका गर्नुभयो । अहिले एमालेले राष्ट्र विखण्डनको लाइन समातेको आरोप पनि उहाँले लगाउनुभयो । ‘हिमाल, पहाड र तराई मधेसलाई एकताबद्ध बनाउने लाइन नै राष्ट्रवादी लाइन हो । राष्ट्र विखण्डन गर्ने आपराधिक लाइनमा अहिले एमाले देखिएको छ यसलाई समर्थन गर्न सकिँदैन,’ प्रचण्डले भन्नुभयो । उहाँले संविधान असफल बनाउने खेल सुरु भएकाले सचेतपूर्वक लाग्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।