तिवारी हत्या घटनाको छानबिनमा सरकारले कुनै कसर बाँकी नराख्ने:गृहमन्त्री निधि

काठमाण्डौं,पुस ५-उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या घटनाको छानबिनमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारी नेतृत्वको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री निधिले हत्या घटनाबारे तथ्य बाहिर ल्याउने जानकारी दिँदै अपराधीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन दिनुभएको हो ।

गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै अध्यक्ष पहारीले हत्या घटनामा संलग्नलाई कानुनको दायरमा ल्याउने खालको अवस्था सृजना नभए भोलिदेखि नेपाल बन्दको आह्वान गर्ने चेतावनी दिनुभएको थियो । यसैविच गृह मन्त्रालयले युवासंघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या काण्डको छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।