‘एक महिनाभित्रै नेपालमा चल्छ चिनियाँ इन्टरनेट’ केवलको समस्या माघभित्रै समाधान हुने

काठमाण्डौं,पुस २९-  नेपाल टेलिकमले केरुङ–गल्छी अप्टिकल फाइबर माघ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने भएको छ। केरुङतिरको केवलमा समस्या आएको र त्यसको मर्मत कार्य सम्पन्न नभएकाले अप्टिकल फाइबर अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन।

अप्टिकल फाइबरको व्यावसायिक रुपमा सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमलाई लिखित पत्र पठाइसकेको जानकारी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए। ‘चीन तिरको केवलमा केही समस्या आएकाले तत्काल रोकिएको र अहिले धमाधम मर्मत भइरहेको छ, अब सञ्चालनमा आउँछ’  उनले भने।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार केरुङतर्फ ठूलो मात्रामा हिउँ परेकाले काममा केही अवरोध भएको हो। तर, चिनियाँ पक्षले छिट्टै मर्मत गर्ने र व्यावसायिक सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।

रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा अप्टिकलको परीक्षण पनि सफल भएको थियो। सचिव गुरुङले भने, ‘ परीक्षण पनि गरिसकिएको र त्यसको परिणाम पनि सकारात्मक आएकाले अब धेरै काम बाँकी छैन।’

चीनबाट नेपाल जोडिएको यो अप्टिकल फाइवरको स्वामित्व नेपाल टेलिकम र चीनको सरकारी स्वामित्वको कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’बीच रहेको छ। यसका लागि दुवै मुलुकका प्राविधिक टोलीले फाइबर परीक्षण गरिसकेका छन्।

नेपाल सरकारले यसअघि दक्षिण एसियाली सूचना मार्ग (सासेक) अन्तर्गत तातोपानी नाका हुँदै चीनसँग अप्टिकल फाइबर जोड्ने योजना अघि बढाएको थियो। त्यसका लागि तातोपानी नाका नजिकै अप्टिकल फाइबर पुगिसकेको भए पनि चीनसँग जोडिएको थिएन।

‘भूकम्पपछि दुवैतर्फ पहिरोले अप्टिकल फाइबर विस्तारलाई अवरोध ग¥यो,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसले गर्दा तातोपानीको योजना यता सारिएको हो।’ चीनसँग अप्टिकल फाइबर जोड्न टेलिकमले धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्मै करिब ९० किलोमिटर फाइबर बिछ्याएको हो।

यो बीचमा देखिएको प्राविधिक समस्या समाधान गर्न मन्त्रालय चिनियाँ पक्षलाई पत्र लेख्दै छिटोभन्दा छिटो समस्या सल्टाउन आग्रह गरेको थियो। त्यसपछि चिनियाँ पक्षले ‘आफूहरुले देखिएको प्राविधिक समस्या समाधानको काम गरिरहेको’ जानकारी मन्त्रालयलाई दिएका थिए।

भारतसँगको परनिर्भता तोडिने
दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ।

‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ प्रवक्ता अधिकारीले भने, ‘फाइबर सन्जालमा जोडिएपछि नेपालले अब चिनियाँ कम्पनीसँग ब्यान्डविथ खरिद गर्न सक्नेछ।

अहिले नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायसँग जोडिएको छ। नेपाल टेलिकम २०५४ सालमा पहिलोपटक भारतसँग अप्टिकल फाइबरमार्फत जोडिएको थियो।

नेपाली दूरसञ्चार सेवा भारतीय सन्जाल  हुँदै सिंगापुर र हङकङमा रहेका हबमा जोडिने गरेकामा अब चिनियाँ बाटोबाट पनि यी हबमा जोडिन सक्नेछन्। त्यसका लागि नेपाली सेवाप्रदायकले रसुवागढी–केरुङ–तिब्बत हुँदै हङकङ पुग्ने अप्टिकल फाइबर प्रयोग गर्नुपर्छ।

चीनसँग अप्टिकल फाइबरमार्फत जोडिँदा नेपालले सस्तोमा ब्यान्डविथ पाउनुका साथै भारतसँगको परनिर्भरता कम हुने सूचना तथा सञ्चार मन्त्री राम कार्कीले बताए। ‘भारतसम्म आइपुग्ने फाइबर नेटवर्क समुद्री मार्ग  हुँदै आएका छन्, समुद्रमा फाइबर बिछ्याउन बढी खर्च लाग्छ,’ उनले भने, ‘चीनको अप्टिकल फाइबर भने जमिनमार्गबाट आएकाले ब्यान्डविथ सस्तो पर्न सक्छ।’

इन्टरनेट सेवाप्रदायक संघ (आइस्प्यान) का अनुसार नेपाली टेलिफोन र इन्टरनेट सेवाप्रदायकले मासिक रूपमा करिब १३ देखि १५ करोड रुपैयाँ ब्यान्डविथका लागि तिर्दै आएका छन्। चीनतर्फ अप्टिकल फाइबर जोडिएपछि टेलिकम बाहेकका निजी कम्पनीले समेत चिनियाँसँग सम्झौता गरेर ब्यान्डविथ खरिद गर्न सक्ने आइस्प्यानका अध्यक्ष सुमनलाल प्रधानले बताए। ‘अहिले हामी भारतीय कम्पनीसँग मात्र किन्दै आएका थियौं,’ उनले भने, ‘अब चिनियाँसँग पनि किन्न सकिने देखियो।’

ब्यान्डविथ सस्तो परे इन्टरनेटको गति बढाउन सहज हुने प्रधानको भनाइ छ। सासेकका लागि भएका विभिन्न अध्ययनले अप्टिकल फाइबरका माध्यमबाट नेपाल विश्व सन्जालमा जोडिँदा टेलिफोन र इन्टरनेटको शुल्क कम्तीमा ३० प्रतिशत घट्ने देखाएका छन्। साभार :नेपाल खबरबाट