राप्रपाको राष्ट्रिय अध्यक्षमा आजबाट डा. लोहनीले जिम्मेवारी सम्हाल्दै

काठमाडौँ,माघ  १२-राप्रपाको चक्रीय प्रणालीअनुसार आजबाट डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।यसअघि साउन ११ देखि अध्यक्ष हुनुभएका पशुपतिशम्शेर जबराको समयावधि मंगलबारबाट सकिएपछि लोहनीले स्वत अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।राप्रपा पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिले चक्रिय प्रणली अनुसार पार्टीको अध्यक्षमा तीन नेताले नेतृत्व गर्ने सहमती भएको थियो ।

नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा लोहनीले राष्ट्रिय पदको जिम्मेवारी हिजोैदेखि लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौँ बाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न लागेको हो ।राप्रपाको आज बस्ने बैठकले डा लोहनीलाई अध्यक्षका रुपमा अनुमोदन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।आगामी फागुन ६ देखि ९ गतेसम्म हुने पार्टी महाधिवेशनको तयारीमा रहेको राप्रपाको नयाँ अध्यक्ष डा लोहनीले करिब एक महिना मात्र पार्टीको नेतृत्व गर्नुहुनेछ ।आजको कार्यसम्पादन समितिको बैठकबाट उहाँले आफ्नो कार्ययोजना पनि सार्वजनिक गर्नुहुनेछ ।