प्रधानमन्त्री दाहालको गृहजिल्ला चितवन आज देखि लोडसेडिङमुक्त

चितवन,माघ २७-चितवन जिल्ला आज देखि लोडसेडिङमुक्त भएको छ । राजधानी काठमाडौं र पोखरापछि प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला चितवन लोडसेडिङमुक्त भएको हो ।

औद्योगिक फिडरबाहेकका सबै क्षेत्रमा आज देखि लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मात्र फोन गरेर चितवनमा लोडसेडिङ नहुने जानकारी दिनु भएको यादवले बताउनुभयो ।एक सातादेखि चितवनमा लोडसेडिङ नभएको जानकारी दिँदै उहाँले औद्योगिक फिडरमा भने लोडसेडिङ हुने बताउनुभयो ।

पूर्व तालिकाअनुसार नै औद्योगिक फिडरमा लोडसेडिङ हुने जनाइएको छ । प्राविधिक समस्या र मर्मत–सम्हारको समयबाहेकका अरुबेला चितवनमा विद्युत् नकाटिने दुलारले बताउनुभयो । यसअघि, चितवनमा दैनिक ४ घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।