अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश

एजेन्सी,माघ २८-अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् । यद्यपि यो ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वा्चित भएपछि एक अन्तर्वार्ताका क्रममा ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए । डिभी चिठ्ठा कार्यक्रम अन्तर्गर्त हरेक वर्ष ५० हजार अमेरिका जाने गरेका थिए । यस्तै फेमेली कोटा अन्तर्गर्त अमेरिकामा ग्रिनकोर्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नछन् ।

हृवाइट हाउसका प्रवक्ताले भने यो विषय तत्काल कुनै प्रतिक्रिया दिन मानेनन् । यसबारे सदनमा छलफल भएपछि मात्र बोल्ने उनले बताएका छन् । तर, यो विधेयक राष्ट्रपति ट्रम्पकै नीति अनुसार आएको मानिएको छ । विधेयक दर्तापछि टोम कटनले आप्रवासीको संख्या घटाउँदा अमेरिकीले फाइदा लिनसक्ने बताए । उनले यो विधेयकलाई यसै वर्ष मतदानमा लगिने विश्वास व्यक्त गरेका छन् ।