सूचनाको हक सम्वन्धी अनुशिक्षण, सूचना अधिकार समुह निर्माण

मधुपौडेल
नेपालगन्ज , फागुन ,२६-
सूचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २३ इन्द्रपुरमा आज सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा वडास्तरीय वडा नागरिक मञ्चका सदस्य, वडा कार्यालयका कर्मचारी, युवा, बालबालिका, संघसंस्थाका प्रतिनिधी लगायत गरि ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, अधिबक्ता उदयराज बर्मा र राकेश कुमार मिश्रले सूचनाको हकका विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो । वडा नागरिक मंचका संयोजक रामदयाल बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव लालबहादुर रानाले स्थानीय निकायबाट प्रदान गर्ने सेवा सुविधा सरल र सहज रुपमा प्रवाह भईरहेको बताउदै विकास निमार्णका विषयमा मागेका सूचना तत्काल दिने प्रतिवद्धता गर्नुभयो ।

कार्यक्रममा सहभागिहरुले स्थानीय समुदायको विकास तथा जवाफदेही र पारदर्शीताका लागि सूचनाको हक मुख्य साधन भएको प्रतिक्रिया दिएका थिए । त्यस अवसरमा स्थानीय युवा रामाननद तमोलीको संयोजकत्वमा १३ सदस्यीय सूचना अधिकार समुह गठन गरिएको थियो । समुहको सदस्यहरुमा रामफेर मौर्य, आमना वागवान, जेसरा विक, निलम सिंह, तुलसीराम गुप्ता, रामअचल धोबी, गिता महत, सुषमा शेष, रामदयाल बर्मा, शेर अली बागवान, हुसेनी यादव, प्रताप सिंह अब्दुल रसिद वागवान रहनुभएको छ ।