काठमाडौं,चैत, १४-
नेपाली वैदेशिक रोजगारी गएका ४३ लाख ८९ हजार जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांक उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।हत्या, बलात्कार, लागुऔषध कारोबार लगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ ।
यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएर लगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने एकिन तथ्यांक सरकारसँग अझै छैन ।रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् । बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ ।
त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् । उनको मुद्दा विचाराधीन छ । कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् ।
हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् ।मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । संयुक्त अरब इमिरेट्स युएईका विभिन्न जेलमा १९ जना नेपाली रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।