मतदाता नामावलीमा समस्या भए फोनबाट सच्याउन सकिने

काठमाण्डु, चैत,१७-
निर्वाचन आयोगले मतदाता नामावलीमा समस्या आइपरे टेलिफोन मार्फत भेरिफाई गर्न सकिने प्रविधि सञ्चालन गर्ने भएको छ। आयोगले डाटा सेन्टर स्थापना गरी निशुल्क हटलाई नम्बर मार्फत मतदाता नामावली भेरिफाई गर्ने प्रणाली स्थापना गर्न लागेको आयोगका प्रविधि फाँटका सहसचिव लक्ष्मीप्रसाद यादवले जानकारी दिनुभयो ।निर्वाचन आयोगले हाल १ करोड ४० लाख मतदाताको स्थानीय तह अनुसारको ठेगाना राखेर मतदाता नामावली मिलाइरहको छ।

नामावलीमा मतदाताको विवरण गलत नहुने गरी आयोगले काम गरिरहेको छ। ’हामी मतदाता नामावलीमा केही गल्ती नहोस् भनेर विवरण इन्ट्री गरिरहेका छौँ। निर्वाचनका समयमा केही समस्या परे कल सेन्टरमा फोन गरेर भेरिफाई गर्ने प्रणाली स्थापना गर्ने अन्तिम चरणमा छौँ,’यादवले भन्नुभयो ,मतदाताको नयाँ ठेगाना राखेर आयोगले मतदाता नामावली चैत २० गतेसम्म प्रिन्ट गर्नेछ।नामावलीमा मतदान केन्द्र समेत समावेश गर्ने आयोगको तयारी छ।

यद्यपी २ नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र नतोक्दा मतदाता नामावलीमा केन्द्र समावेश गर्ने वा नगर्ने भन्नेमा आयोग अन्यौलमा छ। मतदाता नामावलीमा मतदान केन्द्र समेत समावेश गर्ने हाम्रो तयारी छ, ६ जिल्लामा मतदान केन्द्र हालसम्म नतोकिएकाले के गर्ने भन्ने विषयमा हामी छलफलकै क्रममा छौँ,’ आयोगका प्रवक्ता सूर्यप्रसाद यादवले बताउनुभयो । उहाँले निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख १० गतेभित्र सबै जिल्लामा मतदाता नामावली पुग्ने जानकारी दिनुभयो ।