जबर्जस्ती निर्वाचन भए मुलुकमा द्धन्द्ध निम्तन सक्छः अध्यक्ष महतो

लुम्बिनी, चैत २२-
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराए मुलुकमा द्धन्द्ध निम्तने खतरा रहेको बताउनु भएको छ ।सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो “मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहनुभएका अध्यक्ष महतोले प्रमुख तीन दलको हठका कारण मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको उल्लेख गर्दै मधेसी, आदिवासी जनजाति र उत्पीडित समुदायको माग पूरा नहुँदासम्म मोर्चा निर्वाचनमा सहभागी नहुने बताउनु भएको छ ।

संशोधनबिना गरिने चुनावले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ, हामी पनि निर्वाचन चाहन्छौँ, तर पहिला संविधान संशोधन गरेरमात्र निर्वाचन गर्नुपर्छ,उहाँले भन्नुभयो सीमाङ्कनको टुङ्गो नलगाई संविधान संशोधन गरिए त्यो मोर्चालाई मान्य हुन सक्दैन् ।

अध्यक्ष महतोले मोर्चाले उठाएका सबै माग समेटेर संविधान संशोधन गरिए निर्वाचनमा जाने वातावरण बन्छ भन्दै निर्वाचनमा जाने वातावरण भए मोर्चामा आबद्ध दलहरु एकढिक्का भएर सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

जनसङ्ख्याका आधारमा गाउँपालिका बनाउनुपर्ने र मधेस अझै पनि आन्दोलनमा नै रहेकाले छुटेका नागरिकलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने धारणा व्यक्त राख्नुभयो ।