विराटको कप्तानीमा बेङलोर लगातार २ खेलमा पराजित

काठमाण्डौ,वैशाख,४
अस्ट्रेलिया र भारतीय टेस्ट टोलीका दुई कप्तानबीचको भिडन्तमा भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेङ्लोर आफ्नो घरेलु मैदानमा अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथको टिम राइजिङ पूणे सुपरजाइन्ट्ससँग २७ रनले पराजित भएको छ।निकै रोचक यस खेलमा पूणेबाट १ सय ६२ रनको लक्ष्य पाएको बेङ्लोरका लागि पुछारमा स्टुवर्ट बिन्नीले १ छक्का र २ चौकाको सहयोगले ८ बलमा १८ रन बनाउदै खेललाई तान्ने प्रयास गरे पनि उनी असफल भए।यसअघि कप्तान विराट कोहली २८, एबि डीभिलियर्स २९, केदार जाधव १८ र सेन वाट्सन १४ रनमा आउट भएपछि बेङ्लोरको खेल जित्ने सपना चकनाचुर भएको थियो।

बेङ्लोरको हारमा सार्दुल ठाकुरले ३ र बेन स्टोक्सले ३ विकेट लिएका थिए। बेङ्लोरको ५ खेलमा यो लगातार ४ पराजय थियो। विराटको कप्तानीमा बेङ्लोरको यो लगातार २ खेल पराजय हो। यो खेलको पराजयसँगै बेङलोर लिगको पुछारमा पुगेको छ।यसअघि पहिलो ब्याटिङ गरेको पूणेले मनोज तिवारीको पुछारमा बिस्फोटक ११ बलमा २७ रनको सहयोगले ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो।पूर्व कप्तान महेन्द्रसिंह धोनीले सर्वाधक २८ रन बनाएका थिए। कप्तान स्मिथले पनि २७ रन बनाए।

खेलको टर्निङ प्वाइन्टको रुपमा धोनीले एबी डीभिलियर्सलाई २९ रनमा इमरान ताहिरको बलमा स्टम्पिङ गरेका थिए। पूणेले विराट कोहलीको टिमलाई ९ विकेटको क्षतिमा १ सय ३४ रनमा खुम्च्याएको थियो। आजको खेलमा बेङ्लोरले आफ्नो बिस्फोटक ब्याट्सम्यान क्रिस गेललाई उतारेको थिएन्। खेलको म्यान अफ दि म्याच बेन स्टोक्स घोषित भए। उनलाई ३ विकेट र उत्कृष्ट फिल्डिङ गरेबापत पुरस्कृत गरिएको थियो। स्टोक्सले ४ ओभरमा १८ रन खर्चेका थिए। साभार सेतोपाटीबाट