प्रधानन्यायाधीश कार्कीको महाअभियोगमाथि शुक्रबारदेखि छलफल

दाङ,बैशाख,२२-
प्रधानन्यायाधीश सुशिला कार्कीमाथिको महाअभियोगमाथि शुक्रबारदेखि संसदमा छलफल हुने भएको छ ।
विपक्षी दलका सांसदको नाराबाजीका बिच सभामुख ओनसरी घर्तीले छलफलका लागि दिउँसो १ बजेको समय तोक्नुभएको हो । महाअभियोग प्रस्ताव अघि बढाउन नहुने भन्दै एमाले राप्रपालगायत विपक्षी दलका सांसदले संसद बैठक सुरु हुनसाथ आफ्नो ठाउँबाट उठेर नाराबाजी गरेका थिए । तर सभामुख घर्तीले महाअभियोगमाथिको छलफलका लागि दिउँसो १ बजेको समय तोक्नुभएको हो ।
त्यसअघि संसद बैठक बस्नु अघि ३ दलबिच सहमतिको प्रयास भए पनि विफल भएपछि महाअभियोगमाथि छलफलको समय तोकिएको हो । सभामुख घर्तीको पहलमा बसेको ३ दलका शिर्ष नेताको बैठकमा महाअभियोग अघि बढाउने नबढाउने भन्ने कुरा मिल्न सकेन । एमाले राप्रपालगायत विपक्षी दलले महाअभियोग कुनै पनि हालतमा अघि बढ्न नदिने बताएपछि बिहीबारको संसद बैठक बस्दै नबसि स्थगित गरिएको थियो ।