महाभियोगबारे संसद्ले आज के गर्ला ? सरकारको रणनीति यस्तो छ ।


काठमाडौं,वैशाख,२४- 

सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? सबैतिर चासो छ ! आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आजको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ ।

सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगिसक्नु भएको छैन, विभिन्न विकल्पमा उहाँलाई सुझाव आइरहेको छ । उहाँ अझै आन्तरिक छलफलमै हुनुहुन्छ । ३१ वैशाखको पहिलो चरणको स्थानीय तहको चुनावको मिति नजिक छ ।

त्यसैले सभामुखले अब ३१ वैशाखअगाडि संसद् बैठक नराख्नेतिर सोचिरहनु भएको देखिन्छ’, सभामुखनिकट स्रोतले भन्यो ।सरकार र सत्तारुढ दलले कार्कीको एक्सन हेरेर थप कदम चाल्ने रणनीति बनाएका छन् ।

कांग्रेसले प्रधानन्यायाधीशको ‘एक्सन’ हेर्न आइतबार सूचना टाँस गरेर संसद् बैठक स्थगित गर्ने र उनले लिने ‘एक्सन’ पछि अर्को संसद् बैठकबाट अगाडि बढ्ने विकल्प लिएको छ ।

यस विषयमा सत्तारुढ दलसँग पनि आइतबार बिहानसम्म छलफल गरेर निर्णय लिने कांग्रेसको तयारी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।