मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं, २५ वैशाख –

आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिहंदरबारमा दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाइएको छ ।

आजको बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डा, आशन्न स्थानीय तहको निर्वाचन, सुरक्षा अबस्था, निवार्चन तयारी, दलहरुबीच भएका पछिल्ला छलफल तथा असन्तुष्टदलहरुको माग सम्बोधन लगाएतका बारेमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बैठकमा दोस्रो चरणको चुनाव अगाडी सार्ने सम्भावना र बजेटका विषयमा छलफल हुनेछ ।

दोस्रो चरणको निर्वाचन अगाडी बजेट ल्याउन नहुने निर्वाचन आयोगले राय दिएपछि सरकारले जेठ १५ मा बजेट ल्याएर चुनाव अघि सार्ने वा बजेट नै पछाडी लैजाने भन्नेमा निर्णय गर्न सक्ने छ ।

सत्तासिन दलका तर्फबाट संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा राप्रपा सरकारबाट बाहिरिने निर्णय गरेसंगै उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा लगायतका मन्त्रीहरुले बुझाएको राजीनामाका बारेमापनि छलफल हुने छ ।

बैठकमा राप्रपाले सरकारमा पुनः आउने इच्छा देखाएका विषयमा पनि छलफल हुने छ । बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने छ ।