दोस्रो निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा

माओवादी केन्द्रको कार्यलयको बैठक पनि आज बस्दै

काठमाडौं,जेठ, ८

आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनकालागि दलहरुले आन्तरिक तयारी थालेका छन् । त्यसकालागि संसदमा रहेका शीर्ष दलहरु आन्तरिक गृहकार्यमा व्यस्त भएको जनाइएको छ । उनीहरु दोस्रो चरणमा हुने ४ सय ६१ स्थानीय तहकालागि उम्मेदवार छनौटमा जुडेका हुन् ।

पहिलो चरणको मत परिणामबाट पहिलो स्थानमा रहेको एमालेले दोस्रो चरणका लागि उम्मेदवारहरु छनौट गर्न आज प्रदेश संगठन कमिटिको वैठक बोलाएको छ । १, २, ५ र ७ नम्बर प्रदेशमा चुनाब हुन बाँकी रहेका बेला एमालेले प्रदेश कमिटिको वैठक बोलाएको हो । वैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्ने छ ।

यसैबीच, दोस्रो चरणको निर्वाचनबारे रणनीति बनाउन प्रमुख सत्तारुढ माओवादी केन्द्रको कार्यलयको बैठक पनि आज बस्दैछ । आगामी निर्वाचन कसरी फलदायी बनाउने भन्नेमा पार्टीले छलफल गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा अन्य दलहरुसँगा कस्तो अवस्था चुनावी तालमेल गर्ने, पार्टीका उम्मेदवारलाई जिताउन कस्तो रणनीति अख्तियार गर्ने भन्ने विषयमा कार्यलयको वैठकले निर्णय गर्ने प्रवक्ता भुसालले बताउनुभयो ।

राप्रपाको कार्यसम्पादन समिति बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक पनि आजै बोलाएको छ। स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि चुनावको समीक्षा गर्न केन्द्रीय कार्यालय धूम्रबाराहीमा अहिले केहीबेरमा बैठक बोलाइएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधनले पार्ने दूरगामी प्रभावका बारेमा पनि छलफल हुने पाठकले बताउनुभयो । पार्टीको संसदीय दलले यसअघि सरकारले ल्याएको पछिल्लो संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । संविधान संशोधनका विषयमा पार्टीभित्र विवाद भएपछि केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्न लागिएको हो ।

स्थानीय तहको अर्को निर्वाचनमा पार्टीलाई सफल बनाउन गर्नुपर्ने राजनीतिक गतिविधिका बारेमा पनि छलफल गरिनेछ।स्थानीय तह निर्वाचनका लागि पार्टीले सम्बन्धित नेतालाई खटाएका स्थानमा नपुगेको तथा चुनावमा निष्कृय भएका नेता तथा कार्यकर्तालाई आवश्यक कारबाही गरिने पनि जनाइएको छ ।नेपालवाणीवाट