अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं,जेठ,१०-
शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ। विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ

जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक देखिएको बताए । उनले विभिन्न कारणले अभाव भएको र छिटै सबै पुस्तक वितरण हुने बताए। यसै शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्म कुल एक करोड ७५ लाख थान आवश्यक हुने निर्धारण गरिएको थियो।

निर्वाचनको माहोलका कारण विद्यार्थीको समस्या ओझेलमा परेको छ। यस वर्ष पनि पुस्तक अभाव हुने निश्चित हुँदासमेत शिक्षा मन्त्रालय, शिक्षा विभागले आवश्यक अनुगमन गर्न सकेको छैन। जनक शिक्षामा केही महिनाअघि प्रबन्ध सञ्चालकमा नियुक्त भएका महेन्द्रप्रसाद तिमल्सिनाले आवश्यक पुस्तक छपाइको काम सकिएको र केही दिनमा पुस्तक तयार गरी अपुग भएका ठाउ“मा वितरण हुने बताए। जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसमा मतपत्र छपाइको काम गर्दा पाठ्यपुस्तक छपाइमा केही ढिलाइ भएको प्रबन्ध सञ्चालक महेन्द्रप्रसाद तिमल्सिनाले बताए।

आफू प्रबन्ध सञ्चालक भएर आउनुअघि कागज अभाव भएकाले पनि तीव्र गतिमा पुस्तक छपाइको काम हुन नसकेको उनको भनाइ छ। सेक्युरिटी प्रेसमा पुस्तक छपाइ गर्न नपाएपछि १५ लाख पुस्तक छपाइको जिम्मा निजी प्रेसलाई दिइएको हो। जनक शिक्षाले दुईवटा काठमाडौं र तीनवटा विराटनगरका निजी प्रेसलाई छपाइको जिम्मेवारी दिएको थियो।

निजी प्रेसले भने पुस्तक छपाइको काम समयमै गरेका थिए। जनक शिक्षा १० वर्षदेखि निरन्तर घाटामा सञ्चालन भइरहेको छ। जनक शिक्षामा व्यापक सुधारको कार्ययोजनासहित खुला प्रतिस्पर्धाबाट प्रबन्ध सञ्चालकमा नियुक्ति पाएका अनिल झाको कार्यकालमा ८० करोड घाटा पुगेको छ। केही महिलाअघि नै झाको कार्यकाल सकिएको छ। तर, घाटा लाग्ने क्रम रोकिएको छैन। जनक शिक्षाको कुल घाटा डेढ अर्ब पुगेको छ। ०६३(६४ यता १० वर्षसम्म जनक शिक्षा लगातार घाटामा सञ्चालन भएको छ।