प्रधानमन्त्रीको निर्वाचन २१ गते आइतबार हुने

असहमतिकैबीच प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, जेठ, १९-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असहमतिकैबीच प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

आज दिनभर पटक–पटक बैठक गरी सहमति जुटाउने प्रयास भएपनि असफल भएपछि जेठ २१ गतेका लागि प्रधानमन्त्री निर्वाचनको मिति तोकिएको हो ।

सभामुख ओनसरी घर्तीले राष्ट्रपतिबाट बहुमतीय प्रक्रियाअनुसार प्रधानमन्त्री चयनका लागि पत्र आएको भन्दै त्यसका लागि दलहरुबीच प्रक्रियामा सहमति खोज्न आज बिहान संसदको कार्यव्यस्था समिति र दिउँसो प्रमुख तीन दलको बैठक बोलाउनु भएको थियो ।

तर, बैठकमा संसद सुचारु भएपछि प्रधानमन्त्री निर्वाचनको सूचना सार्वजनिक गर्ने कि त्यसअघि नै भन्नेमा सहमति जुट्न सकेन ।

कार्यव्यस्थाले यसबारे दलका शीर्ष नेताहरुसँग छलफल गर्न सुझाव दिएको भन्दै सभामुख घर्तीले दिउँसो फेरि शीर्ष तहको बैठक बोलाउनुभयो ।

तर, त्यसमा पनि दलहरु टसकामस नभएपछि घर्तीले आइतबार ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गर्ने गरी संसदको महासचिवलाई निर्वाचन अधिकृत तोकेको जानकारी दिनुभयो । सबै दलको भावनालाई कदर गर्दै आफूले संविधानत यो निर्णय गरेको भनाइ सभामुख घर्तीको छ ।

सभामुखको निर्देशनलगत्तै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म मनोनयनका लागि समय निर्धारण गरिएको छ । शनिबार नै उम्मेदवारको सूची प्रकाशन गरेर आइतबार बस्ने बैठकमा उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत् गरिनेछ ।

तर, यस विषयमा राजनीतिक सहमति भने जुटिसकेको छैन । विपक्षी एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नहुँदासम्म संसद चल्न नदिने बताएको छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुको माग सम्बोधन नहुँदासम्म संसद चल्न नदिने बताउनुभयो ।

कांग्रेस र माओवादी केन्द्र भने संसद नियमावलीको नियम ४९ अनुसार संसद नचल्दा पनि प्रधानमन्त्रीको निर्वाचनका लागि सूचना जारी गर्न सकिने र संविधानले तय गरेको संसदले प्रधानमन्त्री छान्ने विषयलाई रोक्न नहुनेमा छन् ।

प्रधानमन्त्री चयनको विषय र संसद अवरुद्ध फरक विषय रहेको भन्दै दुबै दलले प्रधानमन्त्री चयन प्रक्रियालाई एमालेले विरोध नगर्ने विश्वास राख्दछन् ।

बिहीबार नै विपक्षी दलले पनि आफू घटकका दलहरुसँग यसबारे परामर्श गरेको थियो । बैठकमा गएका राप्रपाका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्री निर्वाचन प्रक्रिया रोक्न नहुने सुझाव दिएका छन् ।ईमेजवाट